वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदे क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त टोलीले सोमबार बेलुका शंकास्पद अवस्थामा बसेका दुई व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हर्षसिंह ठकुरी (३६) र तुला नेपाली (२२) रहेका छन्। उनीहरू दुवै वीरेन्द्रनगर-१० का स्थानीय बासिन्दा हुन्।
प्रहरीका अनुसार नियमित गस्ती तथा चेकजाँचका क्रममा उनीहरू शंकास्पद रूपमा बसेको देखिएपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट करिब २ ग्राम ब्राउनसुगर फेला परेको हो। बरामद लागुऔषधसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रणका लागि निगरानी अझ कडाइ गर्ने बताएको छ। साथै, पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय लागुऔषध ओसारपसार तथा प्रयोगमा वृद्धि हुन थालेको संकेत देखिएको भन्दै सर्वसाधारणलाई सचेत रहन र यस्ता गतिविधिबारे जानकारी भए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
Comments
Post a Comment
Thank you